२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बजेटबाट आर्थिक सुधारको सुरुवात भएको छ, अब नतिजा कार्यान्वयनमा निर्भर छ : शिवप्रसाद घिमिरे

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । उद्योगी शिवप्रसाद घिमिरेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई वर्तमान आर्थिक अवस्था र मुलुकको स्रोत–साधनका आधारमा सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। बजेटले निजी क्षेत्रका सबै अपेक्षा पूरा गर्न नसके पनि अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा सुरुवाती आधार तयार गरेको उनको भनाइ छ।

सुनौलो नेपालसँगको कुराकानीमा घिमिरेले बजेटको सफलताको मुख्य आधार यसको प्रभावकारी कार्यान्वयन हुने उल्लेख गरे। “नेपालमा बजेट आउँदा निकै राम्रो कुरा गरिन्छ, सबैले स्वागत पनि गर्छन्। तर समस्या कार्यान्वयनमा देखिन्छ। यदि यो पटक पनि विगतकै जस्तो भयो भने फरक परिणाम आउँदैन,” उनले भने।

उनका अनुसार सरकारले बजेटमा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट समयसीमा तोकेर अघि बढ्नुपर्छ। आवश्यक निर्देशिका, नीतिगत निर्णय र प्रशासनिक प्रक्रियामा ढिलाइ भएमा बजेटका लक्ष्य हासिल गर्न कठिन हुने उनको तर्क छ।

WhatsApp Image 2026-06-05 at 1.00.51 PM (1).jpeg

घिमिरेले निजी क्षेत्रका संघ–संस्थाले वर्षौंदेखि उठाउँदै आएका सबै सुझाव एकैपटक सम्बोधन हुन नसक्ने बताए। “निजी क्षेत्रका अपेक्षाको १०० प्रतिशत सम्बोधन सम्भव थिएन। तर अहिलेको आर्थिक अवस्था, स्रोत–साधन र समयलाई हेर्दा बजेट सुधारउन्मुख देखिन्छ,” उनले भने।

अर्थतन्त्र लामो समयदेखि सुस्त रहेको अवस्थामा बजेटले केही सकारात्मक संकेत दिएको उनको विश्वास छ। यद्यपि उनले सरकारको कार्यान्वयन क्षमता नै निर्णायक हुने बताए। “यदि समयमै कार्यान्वयन भयो भने अर्थतन्त्र चलायमान बन्ने आधार तयार हुन्छ। एकैचोटि ठूलो परिवर्तन नआए पनि राम्रो सुरुआत हुनु आफैंमा महत्वपूर्ण कुरा हो,” उनले भने।

ऊर्जा क्षेत्रबारे बोल्दै घिमिरेले नेपालले दीर्घकालीन रूपमा पेट्रोलियम पदार्थको निर्भरता घटाएर विद्युत् खपत बढाउने रणनीति लिनुपर्ने बताए। जलविद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै उनले लगानीकर्तालाई सहज वातावरण, एकद्वार प्रणाली र स्पष्ट नीति आवश्यक रहेको बताए।

WhatsApp Image 2026-06-05 at 1.00.51 PM.jpeg

उनले नेपालमा उत्पादित सस्तो विद्युत् उद्योगीकरणको आधार बन्न सक्ने उल्लेख गर्दै विदेशी लगानी भित्र्याउन सरकारले विशेष पहल गर्नुपर्ने धारणा राखे। “सस्तो बिजुली, सहज जग्गा र विश्वासयोग्य आपूर्ति दिन सकियो भने विदेशी उद्योग नेपाल आउन सक्छन्। त्यसले रोजगारी सिर्जना मात्र होइन, निर्यात पनि बढाउँछ,” उनले भने।

घिमिरेले नेपाललाई क्षेत्रीय व्यापारिक ट्रान्जिट केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना पनि औँल्याए। चीन, भारत र बंगलादेशसँगको कनेक्टिभिटी विस्तार, सुरुङमार्ग, द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले नेपालको आर्थिक रूपान्तरण सम्भव हुने उनको भनाइ छ।

उनले नेपालको जैविक कृषि उत्पादन, जडीबुटी, वनजन्य स्रोत तथा ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने सुझाव दिए। “नेपालले चीन र भारतसँग उद्योगमा प्रतिस्पर्धा गर्न सक्दैन, तर अर्गानिक उत्पादन, जलविद्युत् र प्राकृतिक स्रोतको उपयोग गरेर विशिष्ट बजार बनाउन सक्छ,” उनले बताए।

WhatsApp Image 2026-06-05 at 1.00.51 PM (2).jpeg

सरकारको समग्र कार्यशैलीबारे टिप्पणी गर्दै घिमिरेले राजनीतिक स्थायित्व निजी क्षेत्रको सबैभन्दा ठूलो चाहना भएको बताए। बारम्बार सरकार परिवर्तन हुँदा लगानी वातावरण प्रभावित भएको उल्लेख गर्दै उनले अहिलेको सरकारले स्थायित्व र सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

“निजी क्षेत्र नाफा कमाउने समूह मात्रै होइन, देशको आर्थिक विकासको साझेदार पनि हो। सरकार र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण बनेमा समृद्धिको यात्रा छिटो अघि बढ्न सक्छ,” उनले भने।

घिमिरेले अन्त्यमा सरकारले निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिएर नीति निर्माण र कार्यान्वयनमा सहभागिता गराउनुपर्ने सुझाव दिँदै त्यसो भए मुलुकको आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरे।

WhatsApp Image 2026-06-05 at 1.00.51 PM (3).jpeg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट