काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु फिन इलेक्ट्रो–टेक उद्घाटन गर्दै मन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका हुन् ।
उनले ४८ सालपछि एकैपटक त्यति ठुलो महत्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक भएको बताए । उनले सडक पूर्वाधारमा लामो समयदेखि थाति राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अधुरा कार्यहरुलाई टुङ्गाएर छाड्ने बताए ।
राजनीतिक श्रेयको होडबाजीमा लाग्नुहुन्न भनेर उदारतापूर्वक अधुरा आयोजनालाई सम्पन्न गर्न प्रयाप्त बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । उनले ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोकिएका ट्रान्समिसन लाईन निर्माणको कार्यलाई एक बर्षभित्रै सम्पन्न गर्नका लागि सात–आठ अर्ब विनियोजन गरिएको उल्लेख गरे ।
मन्त्री वाग्लेले गरिबहरूलाई पैसा बाड्दैमा गरिबीबाट माथि आउने नभएकाले गरिबी हटाउनका लागि रोजगारीको आवश्यक रहेको धारणा राखे । यसका लागि पनि निजि क्षेत्र चलायमान हुन आवश्यक रहेको उनको भनाइ छ ।
उनले सरकारले अघि सारेको करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी नभएको बताए । अन्तिम उपभोक्तालाई भार नपर्ने गरि करका बिषयमा सरकारले आवश्यक योजना ल्याउने उनको भनाइ छ । उनले जनताको ठूलो म्याण्डेड पाएको सरकारले नै देश र अर्थतन्त्रको सुधार गर्ने भएकाले यसबारे जनतालाई बुझाएर नै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस