काठमाडौं । नेपालले सिंगापुरमा सम्पन्न भएको एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि जितेको छ । आज (सोमबार) भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले (डीएलएस मेथडमा) पराजित गर्दै उपाधि जितेको हो ।
जितका लागि १८९ रनको लक्ष्य पछ्याएको नपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । नेपाल यसअघि नै एसियन गेम्सका लागि पनि छनोट भईसकेको छ ।
नेपालका लागि कुशल भुर्तेलले ८ चौका र ३ छक्का प्रहार गर्दै ४० बलमा ६५ रनको योगदान दिए । यस्तै, रोहित पौडेल २४ बलमा ३५ रनमा नटआउट रहे ।
बलिङमा हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले एक–एक विकेट लिए ।
त्यसअघि सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । हङकङका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए ।
बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिए । त्यस्तै, करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस