काठमाडौं । नेकपा (एमाले) ले कर्णालीबाट काठमाडौं आएर रोजगारीका लागि संघर्षरत युवा गणेश नेपालीको आत्मदाहको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा एमालेले सरकारको कार्यशैलीका कारण नागरिकमा निराशा बढ्दै गएको दाबी गरेको छ।
पारदर्शिता, सुशासन र युवा रोजगारीको नारासहित बनेको सरकारले जनविरोधी काम गरेको आरोप लगाउँदै एमालेले सरकार जनविश्वास गुमाउँदै गएको उल्लेख गरेको छ।
वक्तव्यमा गणेश नेपालीको आत्मदाहलाई राज्य संयन्त्रको दबाब, गरिबी र निराशाको परिणामका रूपमा चित्रण गर्दै उपचारका क्रममा भएको उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरिएको छ।
एमालेले सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा गरिब र निमुखा नागरिकमाथि अन्याय गरेको आरोप पनि लगाएको छ।
बस्ती हटाउने क्रममा हजारौँ नागरिक आवासको अधिकारबाट वञ्चित भएको, बालबालिकाको शिक्षामा असर परेको र सरकारको व्यवहारका कारण केही नागरिक आत्महत्यासम्म गर्न बाध्य भएको दाबी वक्तव्यमा गरिएको छ।
पार्टीले सरकार गठन भएको पहिलो १०० दिनमै उचित व्यवस्थापनको अभाव, मानसिक तनाव र विस्थापनका कारण विभिन्न नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हटाउने, धम्क्याउने र भोकमरीको जोखिममा धकेल्ने काम लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ।
एमालेले संविधानले सुनिश्चित गरेको नागरिकको सुरक्षित आवास र बाँच्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकारलाई आग्रह गर्दै गरिब तथा निमुखा नागरिकमाथिको दमन तत्काल रोक्न र वैकल्पिक तथा सुरक्षित व्यवस्थापन गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस