२०८३, आषाढ २७ गते

शनिवार, आषाढ २७ गते २०८३

दाउन्नेको ‘जाम आतंक’ अन्त्य, बर्खामै सहज बन्यो नारायणघाट–बुटवल यात्रा

शनिवार , आषाढ २७, २०८३

नवलपरासी । केही वर्षअघिसम्म सामान्य वर्षा हुनासाथ घण्टौँ सवारी जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने फरक देखिएको छ। बर्खा सुरु भइसक्दा पनि नारायणघाट–बुटवल सडकखण्डमा विगतजस्तो सास्ती नदेखिएपछि यात्रु, चालक र स्थानीयवासीले राहतको अनुभूति गरेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सबैभन्दा समस्या सिर्जना गर्ने खण्डका रूपमा चिनिएको दाउन्नेमा सडक विस्तारको काम अन्तिम चरणमा पुगेपछि यस वर्ष आवागमन उल्लेख्य रूपमा सहज बनेको हो। मुख्य सडकको अधिकांश भाग कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएकाले सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने अवस्था हट्दै गएको छ।

तथ्याङ्कले पनि परिवर्तनको संकेत गर्छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म दाउन्ने क्षेत्रमा ६३ पटक सडक अवरुद्ध भएको थियो। निर्माण कार्य, पहिरो, सवारी बिग्रिनु र वर्षाका कारण हजारौँ यात्रुले घण्टौँ जाममा बस्नुपरेको थियो। तर यस वर्ष बर्खायाम सुरु भएयता त्यस्तो अवस्था दोहोरिएको छैन।

नियमित रूपमा यही सडक प्रयोग गर्ने चालक रामु भुसालका अनुसार अहिले दाउन्ने पार गर्न पहिलेझैँ घण्टौँ कुर्नुपर्दैन। “पहिला पानी पर्नेबित्तिकै जाममा फसिन्थ्यो। अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा छिटो र सहज भएको छ,” उनले भने।

बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार दाउन्नेको समस्या राष्ट्रिय स्तरकै चिन्ताको विषय बनेको थियो। सडक विस्तार अन्तिम चरणमा पुगेपछि स्थानीय जनजीवन, व्यापार–व्यवसाय र पर्यटनमा सकारात्मक प्रभाव देखिन थालेको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले पनि गत वर्षको तुलनामा यस वर्ष सवारी व्यवस्थापन निकै सहज भएको बताए। उनका अनुसार प्रहरी र आयोजना कार्यालयबीचको समन्वयका कारण पनि यातायात सञ्चालन प्रभावकारी बनेको छ र लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन।

नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार हालसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ। मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने अहिले लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माणको काम भइरहेको छ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको यो सडक नेपालकै सबैभन्दा व्यस्त राजमार्गमध्ये एक हो। निर्माणका बाँकी सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षामै घण्टौँ जाम र सडक अवरुद्ध हुने अवस्था यस वर्ष धेरै हदसम्म अन्त्य भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट