काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अब बस्ने कार्यापालिकाको बैठकबाट महानगरले यी सबै विषयमा निर्णय गर्ने जानकारी दिएको छ ।
्परिवारका सदस्यलाई रोजगारीको व्यवस्था मिलाउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा समेत गरेको छ।
शुक्रबार महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा उपचारका क्रममा गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।
महानगरले नेपाल सरकारले गठन गर्ने छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै छानबिनबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने जनाएको छ। घटनाको सत्यतथ्य बाहिर ल्याउन र कमजोरी सुधार्न महानगर सहयोगी भूमिकामा रहने विज्ञप्तिमा उल्लेख छ।
यस्तै, नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक उपाय अवलम्बन गरिने महानगरले जनाएको छ। संवेदनशील परिस्थितिमा संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई महानगरले आग्रह पनि गरेको छ।
राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा बिहीबार राति निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस