२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

तान्जानियामा मारबर्ग भाइरसका कारण आठ जनाको मृत्यु : डब्लुएचओ

बुधवार , माघ २, २०८१

जेनेभा, एएफपी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शङ्कास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप सङ्क्रमितहरू फेला पर्न सक्ने सम्भावना छ ।’

डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ । छिमेकी मुलुक रुवान्डामा तीन महिनाभन्दा बढी मारबर्गको महामारी फैलिएको डब्लुएचओले घोषणा गरेको एक महिना नबित्दै यो घोषणा गरिएको हो । डब्लुएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक रक्तस्रावी ज्वरो निम्त्याउँछ। यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसहरूको एउटै परिवारसँग सम्बन्धित छ।

मारबर्गको ज्वरोसँगै रक्तस्राव र अङ्ग फेल हुने गर्छ र भाइरस सङ्क्रमण पछि हुने मृत्यु दर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्ने डब्लुएचओले जनाएको छ । कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो, जसमा छ जनाको मृत्यु भएको थियो भने नौ जना सङ्क्रमित भएका थिए।

उनले भने, “हामी छिमेकी देशहरुलाई सतर्क रहन र सम्भावित सङ्क्रमितको व्यवस्थापनका लागि तयार रहन सुझाव दिन्छौं । हामी अहिले तान्जानियासँग यात्रा वा व्यापार प्रतिबन्धको सिफारिस गर्दैनौँ ।” डब्लूएचओले भनेको छ कि मारबर्ग सजिलै फैलिँदैन । भाइरस सर्नका लागि सङ्क्रमित बिरामीको शरीरबाट आउने तरल पदार्थसँगको सम्पर्क आवश्यक पर्दछ।

उनले सावधानी अपनाउन सुझाब दिँदै अगाडि भने, ‘भाइरसको सम्पर्कमा आएका व्यक्ति एक देशबाट अर्को देश वा एक समुदायबाट अर्को समुदायमा पुगेको हुनसक्ने कुरालाई नकार्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट