गोरखा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए।
उनले भने, “मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेर नै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सहज र स्पष्ट जवाफ दिएको छु।”
बयानका क्रममा भएको एक प्रसङ्ग स्मरण गर्दै गुरुङले भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा ‘तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरेको थिएँ।”
उनले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गरे।
“म समितिबाट सफाइ पाउनेमा आशावादी छु,” उनले भने।
आफू निर्दोष सावित भएर पुनः गृहमन्त्री बन्ने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले कार्यकर्तासँग फरक आग्रह पनि गरे।
“यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,” उनले भने, “म कामलाई प्राथमिकता दिन चाहन्छु।”
सम्बोधनका क्रममा गुरुङले रास्वपाको संगठन निर्माण र नेतृत्वको कार्यशैलीबारे पनि धारणा राखे। उनले अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने बताए।
“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधि अगाडि बढाउनुपर्छ,” उनले भने, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन।”
कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा आम नागरिकबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखाका मतदाताप्रति धन्यवाद व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस