२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ट्रम्पको दोस्रो कार्यकालमा विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

बुधवार , माघ २, २०८१

बीबीसी । मुद्रास्फीति, ब्याजदर र करका कारण यो वर्ष विश्व अर्थतन्त्रका लागि रोचक हुने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार आर्थिक वृद्धिदर स्थिर तर निकै कम ३.२ प्रतिशत रहने अपेक्षा गरिएको छ।

गत क्रिस्मसको ठ्याक्कै एक साताअगाडि अमेरिकाका लाखौँ ऋणीका लागि एउटा स्वागतयोग्य उपहार रह्यो, लगातार तेस्रो पटक ब्याजदर कटौती।

सेयर बजारमा व्यापक गिरावट आयो किनकि संसारको सबैभन्दा ठूलो केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीतिविरुद्ध संघर्ष जारी रहेका बेला मानिसहरूले ब्याजदरमा थप कटौतीको आशा गर्न नहुने स्पष्ट पारेका छन्। यहाँबाट नयाँ चरणको सुरुवात भएको छ र ब्याजदरमा थप कटौतीबारे हामी सचेत हुन गइरहेका छौँ उनले भनेका छन्।

पछिल्ला वर्षहरूमा कोभिड महामारी र युक्रेन युद्धका कारण विश्वभरि व्यापक मूल्यवृद्धि भएको छ। महँगी अझै बढिरहे पनि त्यसको गति उल्लेख्य रूपमा सुस्त भएको छ।त्यसको बावजुद अमेरिकामा गत नोभेम्बरमा २.७ प्रतिशतले महँगी बढ्यो, युरो क्षेत्र र बेलायतमा यो दर क्रमशः २.२ र २.६ प्रतिशत रह्यो।

मुद्रास्फीतिलाई २ प्रतिशतमा राख्ने उनीहरूको लक्ष्य रहेको छ। अर्थतन्त्रमा वृद्धि भयो भने त्यो हासिल गर्न सहज हुन पनि सक्छ। यद्यपि विश्वव्यापी आर्थिक वृद्धिका निम्ति सबैभन्दा ठूलो कठिनाइ भनेको अनिश्चितता हो र त्यो अनिश्चितता ट्रम्पको दोस्रो कार्यकालसँगै आउन लागेको जेपी मोर्गन लगानी बैंकका ग्लोबल माक्रो रिसर्च प्रमुख लुइस ओगानेस बताउँछन्।

गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपतीय चुनावमा डोनल्ड ट्रम्पले जितेयता अमेरिकी व्यापार साझेदारहरूले चीन, क्यानडा र मेक्सिकोमाथि नयाँ कर थप्ने चेतावनी दिँदै आएका छन्। अमेरिकाले अझ बढी एकहोरो नीति लिने, कर बढाउने, अमेरिकी उत्पादनलाई अझ बढी संरक्षण गर्ने प्रयास गर्न लागेको देखिन्छ, ओगानेस भन्छन्।

यदि त्यसले अमेरिकी वृद्धिलाई सघाउँछ भने पनि व्यापारमा अमेरिकामाथि निर्भर रहँदै आएका कैयौँ मुलुकलाई कम्तीमा अल्पकालका निम्ति असर पार्ने छ। आईएमएफका भूतपूर्व प्रमुख अर्थशास्त्री तथा बराक ओबामाका आर्थिक सल्लाहकार माउरिस ओब्स्टफेल्डका अनुसार कर खास गरी मेक्सिको र क्यानडाको हकमा बढी बेफाइजानक हुन सक्छ, तर अमेरिकाका लागि पनि हानिकारक हुन सक्छ।

आपूर्ति शृङ्खलामा निर्भर तीनवटा देशमा फैलिएको कार उत्पादक कम्पनीको उदाहरण उनी अघि सार्छन्। यदि तपाईँ सप्लाई चेनलाई बिथोल्नुहुन्छ भने मोटर बजारमा त्यसको व्यापक असर पर्न सक्छ। त्यसले महँगी बढाउन सक्छ, उत्पादनको माग घटाउन सक्छ र कम्पनीको नाफामा असर पार्न सक्छ, जसका कारण लगानीको स्तर तल झार्न सक्ने उनी औँल्याउँछन्।

हाल पिटर्सन इन्स्टिच्यूट फर इन्टर्न्याश्नल ईकनमिक्समा आबद्ध ओब्स्टफेल्ड अगाडि थप्छन्, व्यापारमा व्यापक निर्भर विश्वमाथि यस्ता करहरू लादिएमा आर्थिक वृद्धिमा त्यो क्षति पुर्‍याउने हुन्छ। त्यसले विश्वलाई आर्थिकमन्दीमा धकेल्न सक्छ।कर बढाउने चेतावनीहरूले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको राजीनामामा पनि भूमिका निर्वाह गरेको छ ।

चीनमा पर्ने असर

अमेरिका र चीनले एकअर्कालाई बेच्ने वस्तुमा पहिलेदेखि कर लाग्दै आएको भए पनि नयाँ कर लगाउने ट्रम्पको चेतावनी विश्वकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रका निम्ति महत्त्वपूर्ण चुनौती हो। सस्ता सामानहरूको निर्यात चीनको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो। कर थपिँदा मूल्य बढ्न गएर उपभोक्ता खर्चमा तथा लगानीमा कमी आउनेसहितका आन्तरिक चुनौती सिर्जना हुन्छ, जसलाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको छ।

विश्व बैंकका अनुसार ती प्रयासहरूले काम गरिरहेका छन्। डिसेम्बरको अन्त्यतिर उसको पूर्वानुमानमा परिवर्तन भई सन् २०२५ मा चिनियाँ अर्थतन्त्र ४.१ प्रतिशतबाट ४.५ प्रतिशत वृद्धि हुने बताइएको छ। बेइजिङले सन् २०२५ का लागि अझै पूर्वानुमान गर्न बाँकी छ। तर गत वर्षको जस्तै पाँच प्रतिशतमा रहने चाहिँ उसको अनुमान छ।

घरजग्गा क्षेत्रका चुनौतीलाई सम्बोधन गर्नु, सामाजिक सुरक्षा सञ्जाललाई सुदृढ गर्नु र स्थानीय सरकारहरूको अर्थतन्त्रमा सुधार ल्याउन दीर्घकालीन सुधारका निम्ति बाटो खुला गर्नु महत्त्वपूर्ण हुने छ, विश्व बैंक चीन निर्देशक मारा वार्विक भन्छिन्।

चीनस्थित अमेरिकी च्याम्बर अफ कमर्सका अध्यक्ष माइकल हार्टका अनुसार यी घरेलु संघर्ष अर्थ चिनियाँ सरकार विदेश लगानीलाई झन् स्वागत गर्छ भन्ने हो। बाइडन प्रशासनका बेला अमेरिका र चीनबीच करलाई लिएर तनाव बढेको छ। यसको अर्थ कतिपय कम्पनीले अन्यत्र उत्पादन गर्नतर्फ हेरिसकेका छन्।

विश्व व्यापार युद्धको केन्द्रमा रहिरहने एउटा उद्योग भनेको विद्युतीय सवारीसाधन हो। गत वर्ष चीनमा एक करोडभन्दा बढी गाडी उत्पादन भएको थियो र उसको वर्चस्वले अमेरिका, क्यानडा अनि युरोपेली सङ्घको तर्फबाट नयाँ कर निम्त्यायो।

बेइजिङले ती करहरू अनुचित भएको बताउने गरेको छ र त्यसलाई विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा चुनौती दिइहेको छ। यद्यपि डोनल्ड ट्रम्पले कर लाद्ने सम्भावनाले युरोपेली सङ्घमा चासो निम्त्याएको छ।

व्यापारमा अवरोध, संरचनावादी कदमहरूले आर्थिक वृद्धिलाई सघाउँदैनन् र अन्ततोगत्वा त्यसको असर मुद्रास्फीतिमा हुन्छ, जुन मूलतः अनिश्चित छ, युरोपिअन सेन्ट्रल बैंकको प्रमुख क्रिस्टिन लेगार्डले गत महिना भनिन्, तर समग्रमा त्यसले मुद्रास्फीति निम्त्याउँछ।

जर्मनी र फ्रान्स युरोपेली अर्थतन्त्रका परम्परागत इन्जिन हुन्। तर राजनीतिक अस्थिरताका कारण गत वर्ष उनीहरूको अर्थतन्त्रले राम्रो गरेको छैन। आउँदो वर्षमा युरोजोनले गति गुमाउन सक्ने जोखिम छ।

उपभोक्ताहरूले खर्च नबढाएसम्म र व्यापारव्यवसायमा लगानी नबढाइएसम्म आर्थिक वृद्धि हुने देखिन्न।

एउटा सर्वेक्षणका अनुसार कर र ज्यालामा वृद्धिका कारण बेलायतको महँगी बढ्न सक्छ।युरोजोनमा ब्याजदर कटौतीका लागि एउटा बाधा भनेको मुद्रास्फीति ४.२ प्रतिशतमा कायम छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट