काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ । आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले आफ्नो उपाधि रक्षा गरेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा गुजरातले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको ऐतिहासिक जितमा स्टार ब्याटर विराट कोहली नायक बने । उनले ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतमा अविजित ७५ रनको कप्तानी इनिङ खेले । त्यस्तै, भेन्कटेश अय्यरले ३२ रनको महत्वपूर्ण योगदान दिए । गुजरातका तर्फबाट बलिङमा राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कागिसो रबाडा र अर्शद खानले समान १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो । उसका लागि वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै निशान्त सिन्धुले २० तथा जोस बटलरले १९ रन जोडे ।
गुजरातलाई सस्तैमा रोक्न बेंगलुरुका रसिख सलामले घातक बलिङ गर्दै ३ विकेट लिए । जोश हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट चट्काए ।
लिग चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको बेंगलुरुले पहिलो क्वालिफायरमा पनि गुजरातलाई नै हराएको थियो । गत संस्करण (२०२५) मा पन्जाब किङ्सलाई हराउँदै पहिलो पटक आईपीएलको स्वाद चाखेको बेंगलुरुले यसपटक उपाधि रक्षा गर्दै नयाँ इतिहास रचेको छ ।
योसँगै लगातार दुई पटक आईपीएल ट्रफी उचाल्ने बेंगलुरु तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किङ्स (२०१० र २०११) तथा मुम्बई इन्डियन्स (२०१९ र २०२०) ले मात्र यो सफलता हासिल गरेका थिए । आईपीएल इतिहासमा हालसम्म चेन्नई र मुम्बईले सर्वाधिक ५–५ पटक, कोलकाता नाइट राइडर्सले ३ पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान १–१ पटक उपाधि जितेका छन् ।
प्रतिक्रिया दिनुहोस