काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाउँदै कडा आलोचना गरेका छन् । नेकपा एमाले संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संसदको रोष्टमबाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिँदा कुनै कारबाही नगर्ने सभामुखले विपक्षी सांसदहरूले राष्ट्रको पक्षमा आवाज उठाउँदा छानबिन समिति बनाएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘राष्ट्रघाती अभिव्यक्ति दिँदा रुलिङ गरेर केही गर्न नसक्ने सभामुखले राष्ट्रको पक्षमा बोल्ने सांसदहरूमाथि कारबाही गर्न समिति बनाएछन् । गर्नुहोस्, को–कोलाई कारबाही गर्नुपर्ने हो गर्नुहोस्, कारबाहीबाट एमाले डराउँदैन ।’
प्रधानमन्त्रीको भनिएको राष्ट्रघाती अभिव्यक्तिको विरोध गर्दा केही सांसदहरू आक्रोशित भएर बोलेको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाइएको भन्दै ओलीले आपत्ति जनाए ।
उनले राष्ट्रघाती भनिएका अभिव्यक्तिमा समेत केही सांसदहरूले ताली बजाएको भन्दै ओलीले भने– ‘मान्छेको जुनी पाएर पनि कठैबरा, विचरा—जो राष्ट्रको पक्षमा बोल्न सक्दैन ।’ ओलीले संसदमा अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रहितको आवाजलाई दबाउन खोजिएको भन्दै यस्तो कदमले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्ने चेतावनी दिए । राष्ट्रको पक्षमा बोल्ने सबै विपक्षी सासंदहरुलाई ओलीले धन्यवाद समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस