२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लंका प्रिमियर लिग सिजन ६ मा नेपाली क्रिकेट प्रतिभालाई सशक्त अवसर

दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेल एलपीएल २०२६ का लागि छनोट

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाउँदै गएको सशक्त उपस्थितिले लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ मा पनि थप पहिचान पाउने भएको छ। 

प्रतियोगिताको २०२६ संस्करणका लागि विभिन्न फ्रेन्चाइजहरूले तीन नेपाली खेलाडीलाई आ-आफ्नो टोलीमा समावेश गरेका छन्।

अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई एससी जाफना किंग्सले आफ्नो एसोसिएट स्टारका रूपमा अनुबन्ध गरेको छ। 

उत्कृष्ट ब्याटिङ, उपयोगी बलिङ तथा सशक्त फिल्डिङ क्षमताका कारण ऐरी लिगको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजमध्ये एक जाफना किंग्सका लागि महत्वपूर्ण खेलाडी हुने अपेक्षा गरिएको छ। उनको छनोटले विश्व क्रिकेटका फ्रेन्चाइज प्रतियोगिताहरूमा नेपाली खेलाडीको बढ्दो प्रभावलाई प्रतिबिम्बित गर्दछ।

एससी जाफना किंग्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि टोलीमा भित्र्याएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको परिचित नाम बनेका लामिछानेको विभिन्न फ्रेन्चाइज प्रतियोगितामा बटुलेको अनुभव तथा आक्रामक स्पिन बलिङ क्षमताले जाफनाको बलिङ आक्रमणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, कोलम्बो क्याप्सले शीर्षक्रमका ब्याटर कुशल भुर्तेललाई आफ्नो एसोसिएट स्टारका रूपमा चयन गरेको छ। आक्रामक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय अनुभवका कारण भुर्तेलले कोलम्बोलाई शीर्षक्रममा थप विकल्प प्रदान गर्नेछन्।

दुई फरक फ्रेन्चाइजमा तीन नेपाली खेलाडीको छनोटले नेपाली क्रिकेट प्रतिभाप्रति बढ्दो सम्मान तथा लंका प्रिमियर लिगमा एसोसिएट राष्ट्रका खेलाडीहरूको विस्तार हुँदै गएको भूमिकालाई उजागर गरेको छ। यसले दक्षिण एसियाका समर्थकहरूसँग प्रतियोगिताको सम्बन्ध अझ बलियो बनाउँदै व्यापक दर्शक सहभागिताको अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आईपीजीका संस्थापक तथा अध्यक्ष अनिल मोहनले भने, “नेपालको क्रिकेट समर्थकहरू अत्यन्त उत्साही छन्। एलपीएलमा नेपाली खेलाडीको सहभागिताले नेपाली बजारसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्छ। उनीहरूको छनोटले एलपीएललाई प्रतिस्पर्धात्मक तथा क्षेत्रीय रूपमा सान्दर्भिक टी-२० प्रतियोगिताका रूपमा विकास गर्ने हाम्रो उद्देश्यलाई थप बल पुर्‍याउँछ।”

नेपालका खेलाडीहरूले टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासहित एलपीएल सिजन ६ ले प्रतियोगिता अवधिभर नेपाली क्रिकेट समर्थकहरूको उल्लेखनीय चासो आकर्षित गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट