विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) मा आर्टिफिसियल इन्टेलिजेन्स (AI) सक्षम GE Signature अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ ।
हस्पिटलको दाबी अनुसार यो नेपालमै पहिलो AI-सक्षम GE Signature USG मेसिन हो । यस उपलब्धिसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आफ्नै सहरमा पाउने भएका छन् ।
परम्परागत अल्ट्रासाउन्डको तुलनामा यो मेसिनमा जडान गरिएको AI प्रविधिले शरीरका भित्री अंगहरूको तस्बिर अत्यन्तै सूक्ष्म र स्पष्ट रूपमा प्रदर्शन गर्छ । यसमा रहेका AI टुलहरूले अंगहरूको बनावट स्वतः पहिचान गरी स्वचालित रूपमा नाप लिन सक्षम छन्, जसले मानवीय त्रुटिको सम्भावनालाई न्यूनतम बनाई सटिक रिपोर्ट सुनिश्चित गर्ने हस्पिटलको भनाइ छ ।
यसका साथै AI प्रविधिका कारण जाँच प्रक्रिया झण्डै ४० प्रतिशतसम्म छिटो हुने भएकोले बिरामीले रिपोर्टका लागि लामो समय प्रतीक्षा गर्नु पर्दैन ।
विशेषगरी हाई-डेफिनेसन 3D/4D इमेजिङ सुविधाका कारण चिकित्सकहरूलाई रोग निदान र उपचारको सही निर्णय लिन सहज हुने हस्पिटलको भनाइ छ ।
हस्पिटलका प्रशासन प्रमुख प्रमेश राज देवकोटाले भने, "बिराट मेडिकल कलेज टिचिङ हस्पिटल सधैँ गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहँदै आएको छ ।
यो AI-सक्षम GE Signature USG मेसिन सञ्चालनमा ल्याउन पाउनु हाम्रा लागि गर्वको विषय हो । अब पूर्वाञ्चलका बिरामीहरूले सटिक निदान र स्तरीय उपचारका लागि काठमाडौं वा विदेश धाउनु पर्दैन, त्यो सुविधा अब आफ्नै सहरमा उपलब्ध छ ।"
बिराट मेडिकल कलेज टिचिङ हस्पिटल पूर्वाञ्चलको अग्रणी स्वास्थ्य संस्थाको रूपमा यस क्षेत्रका जनताको स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्याउँदै आएको छ । GE Signature USG मेसिनको सञ्चालनसँगै हस्पिटलको डायग्नोस्टिक विभाग अझ सुदृढ र भरपर्दो बन्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस