जनकपुरधाम /मधेश प्रदेश प्रहरीभित्र नेतृत्व र फिल्ड कमाण्डबीचको टकराव झन् चर्किंदै गएको संकेत देखिएको छ । सप्तरी र धनुषाका प्रहरी प्रमुखले प्रदेश नेतृत्वसँगको असहमतिपछि सरुवा रोजेर जिल्ला छाडेको केही समय नबित्दै रौतहट र बाराका प्रहरी प्रमुखलाई समेत स्पष्टीकरण सोधिएको घटनाले संगठनभित्रको आन्तरिक द्वन्द्वलाई सतहमा ल्याएको छ । मधेश प्रहरी प्रमुख डीआइजी गोविन्द थपलियासँग मतभेदपछि सप्तरी र धनुषा प्रहरी प्रमुखले सरुवा मागेर अन्यत्र गएका थिए ।
प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला संवेदनशील सीमावर्ती जिल्लाका प्रहरी प्रमुखहरू क्रमशः विवादमा तानिनु संयोग मात्र हो कि योजनाबद्ध दबाबको श्रृंखला भन्ने प्रश्न उठ्न थालेको छ । मधेश प्रहरी प्रमुख आफै लेनदेनको विषयमा तानिएका थिए । प्रहरी केन्द्रीय कार्यालयले आन्तिरक रुपमा छानविन गरेपनि प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
प्रहरी स्रोतहरूका अनुसार रौतहट र बारामा तस्करी नियन्त्रण अभियान कडाइका साथ अघि बढाइएपछि जिल्ला नेतृत्व र प्रदेश तहबीच दूरी बढेको थियो । अवैध कारोबार नियन्त्रणका क्रममा केही प्रभावशाली समूहहरूको स्वार्थ प्रभावित भएपछि त्यसको असर प्रहरी संगठनभित्रै देखिएको प्रहरी स्रोतको दाबी छ ।
यसअघि धनुषा र सप्तरीका एसपीले पनि काम गर्ने वातावरण नरहेको भन्दै सरुवा रोजेका थिए । अहिले फेरि थप दुई जिल्लाका प्रहरी प्रमुखमाथि स्पष्टीकरणको कारबाही भएपछि मधेश प्रहरीभित्र नेतृत्व संकट, आदेशको राजनीति र फिल्ड कमाण्डमाथिको दबाबबारे नयाँ बहस सुरु भएको हो ।
यता प्रदेश प्रहरी कार्यालयले भने यो नियमित प्रशासनिक प्रक्रिया र कार्यसम्पादन मूल्यांकनको हिस्सा भएको दाबी गरेको छ । तर लगातारका घटनाक्रमले मधेश प्रहरीभित्रको आन्तरिक शक्ति संघर्ष झन चर्कदै गएको बुझ्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस