काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनलाई सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनाउन आग्रह गरेका छन्।
पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै जेठ २३ र २४ गते हुने जिल्ला अधिवेशनलाई पनि लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।
उनले अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ राजनीतिक परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
लामिछानेले पार्टीको हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन्।
रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले विचारसँगै राजनीतिक शैली, व्यवहार र संस्कार पनि उन्नत हुनुपर्ने बताएका छन्। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न नसकिने उनको भनाइ छ।
स्थापनाकालमा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने लामिछानेले बताएका छन्। चार वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको उल्लेख गर्दै समयमै सच्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
पार्टी जिम्मेवारीलाई भविष्यको संसदीय अवसरसँग जोडेर नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि देखिएको भन्दै उनले यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियामार्फत न्यूनीकरण गर्नुपर्ने बताएका छन्।
लामिछानेले रास्वपाको वर्तमान अवस्थालाई मतदाताको विवेक, पार्टी सदस्यहरूको समर्पण तथा पुराना र नयाँ पुस्ताको संयुक्त योगदानको परिणाम भएको बताएका छन्।
अब लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उल्लेख गर्दै उनले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने उल्लेख गर्दै उनले ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने समय आएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस