विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा प्रतियोगितात्मक कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा प्राज्ञ गंगा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, कला र समाज रूपान्तरणका विषयमा विशेष चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको बताए । उनले सहकारीको भूमिका बचत तथा ऋण प्रवाहमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि प्राज्ञ सुवेदीले साहित्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले समाजका विकृति–विसंगति, माया–प्रेम, मिलन–विछोड, नीति निर्माण, सुशासन तथा समसामयिक विषयवस्तुलाई साहित्यले समेट्ने उल्लेख गर्दै साहित्य समाजसँगै राष्ट्र रूपान्तरणको महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा अग्रज स्रष्टाहरू बद्री विशाल पोखरेल, टंक न्यौपाने र बसुन्धरा झालाई सम्मान गरिएको थियो ।
कवि गोष्ठी तथा सम्मान कार्यक्रममा १५ जना कविले आफ्ना कविता तथा गजल वाचन गरेका थिए । सहकारीले सूचना जारी गर्दै देशभरबाट साहित्यिक रचना आह्वान गरेको थियो । संस्थाका सचिव ओम सुवेदीका अनुसार प्रतियोगिताका लागि ५२ वटा रचना प्राप्त भएका थिए । प्राप्त रचनामध्ये कोड नम्बरका आधारमा २३ वटा रचना सर्टलिस्ट गरिएको थियो भने अन्तिम चरणको वाचनमा १५ जना मात्र सहभागी भएका थिए ।
प्रतियोगितामा जाजरकोटका सदाशय गौतमको कविता ‘नयाँ युग रच्ने हामी नेपाली’ प्रथम भएको छ । त्यसैगरी विराटनगरकी नानुमैया दाहालको कविता ‘म विर्खे कामी हुँ’ दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
काठमाडौंका सुशील पौडेलको कविता ‘मातृभूमिको आह्वान’ तेस्रो भएको छ भने झापाका निकेश डाँगी विक्षिप्तको कविता ‘भान्सा युद्ध’ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कविता प्रतियोगिताको निर्णायक समितिमा प्राज्ञ विवश पोखरेल, तिला लेकाली र हरि कट्टेल रहेका थिए । निर्णायक समितिका सदस्य पोखरेलका अनुसार रचनाको विषयवस्तु, भाव र वाचनकलालाई आधार बनाएर नतिजा निर्धारण गरिएको हो ।
कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट साहित्यकार तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहकारीले साहित्य, सिर्जना र संवाद मासिक कार्यक्रम पनि सञ्चालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस