काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैदेशिक सम्बन्ध र कुटनीतिको संवेदनशीलता बुझ्न र परराष्ट्र मामिलामा परिपक्व व्यवहार देखाउन सुझाव दिएका छन् ।
रास्वपा सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा अध्यक्ष लिङ्देनले सरकारलाई कूटनीतिक विषयमा थप संवेदनशील बन्न आग्रह गरेका हुन् ।
संसद् सचिवालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धमा सरकारले देखाएको अपरिपक्वताप्रति असन्तुष्टि जनाए । उनले भने, “वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहार देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । सरकारले गर्ने गलत क्रियाकलापको असर सम्पूर्ण देश र जनताले व्यहोर्नुपर्छ। त्यसकारण परराष्ट्र मामिलामा अलि परिपक्व व्यवहार गरियोस् ।”
उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति तथा रास्वपा सभापति रवि लामिछानेले हालैको भारत भ्रमणका क्रममा “हामीले विगतको भारी बोक्दैनौँ” भनी दिएको अभिव्यक्तिलाई कुटनीतिक रूपमा अपरिपक्व भएको बताए ।
अध्यक्ष लिङ्देनले यस्ता राष्ट्रिय सरोकार र कूटनीतिक सवालमा दिइने हल्का अभिव्यक्तिले दीर्घकालीन रूपमा गम्भीर अर्थ र असर राख्ने भन्दै वैदेशिक सम्बन्धका विषयमा थप संवेदनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराए ।
आफ्नो भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि रास्वपा सभापति लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए ।
प्रतिक्रिया दिनुहोस