काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमित परीक्षामा नन–ग्रेडिङ (NG) मा परेर ग्रेडवृद्धिका लागि परीक्षा दिएका परीक्षार्थीहरूको नतिजा सार्वजनिक गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले मंगलबार पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । यस वर्षको एसईई पूरक परीक्षा गत असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो ।
बोर्डका अनुसार यस वर्षको नियमित एसईई परीक्षामा कुल एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन–ग्रेडिङ (एनजी) मा परेका थिए। उनीहरूमध्ये पूरक परीक्षामा सहभागी भएका विद्यार्थीहरूको नतिजा अहिले सार्वजनिक गरिएको हो । यो नतिजा आएसँगै ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई माथिल्लो कक्षा (कक्षा ११) मा भर्ना हुने बाटो खुलेको छ ।
यसरी हेर्नुहोस् नतिजा
पूरक परीक्षामा सहभागी परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट (www.see.gov.np वा www.neb.gov.np) तथा बोर्डले उपलब्ध गराएका अन्य आधिकारिक माध्यम एवं एसएमएस सेवाबाट सजिलै हेर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस