काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री खनाल आगामी जुन १३ (जेठ ३० गते) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा जुन १५ र १६ तारिख (असार १ र २ गते) मा बेइजिङमा उच्चस्तरीय औपचारिक भेटघाट र द्विपक्षीय वार्ताहरू हुने कार्यतालिका तय गरिएको छ । नयाँ सरकार गठन भएपछि मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको कुटनीतिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रयासस्वरूप यो भ्रमण गर्न लागेका हुन् ।
चीन बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय हित, व्यापार, र पारवहनका विषयमा औपचारिक वार्ता गर्नेछन् । यसका साथै उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङलगायतका शीर्ष नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा नेपाल–चीनबीचका सीमा व्यवस्थापन, कनेक्टिभिटी, पूर्वाधार विकासका आयोजना तथा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका पुराना प्रतिबद्धताहरूको कार्यान्वयनका विषयमा महत्त्वपूर्ण छलफल हुने मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ।
उच्चस्तरीय राजनीतिक भेटघाटका अतिरिक्त परराष्ट्रमन्त्री खनालले चीनमा रहेका नेपाली व्यवसायी, विद्यार्थी तथा नेपाली डायस्पोराका प्रतिनिधिहरूसँग समेत अन्तर्क्रिया गर्ने कार्यक्रम छ । भ्रमण दलमा परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना र मन्त्रीको सचिवालयका उपसचिव मधुसुदन भट्टराई रहनेछन् ।
चीन भ्रमणका औपचारिक कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल जुन १७ (असार ३ गते) मा स्वदेश फर्किने कार्यतालिका रहेको छ । भारत भ्रमण लगत्तै हुन लागेको यो चीन भ्रमणलाई भू–राजनीतिक वृत्तमा नेपालको परम्परागत सन्तुलित कुटनीतिक अभ्यास र रणनीतिक स्वायत्तताको निरन्तरताका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस