काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
आज (सोमबार) बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
बैठकमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकको सूचनासहितको औपचारिक निमन्त्रणा संसद्मा रहेका सबै दलहरूलाई पठाइसकिएको छ ।
विशेष गरी संसद्को चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, राष्ट्रिय सरोकारका मुख्य मुद्दाहरूमा दलहरूबीच कसरी साझा धारणा बनाउने र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा केन्द्रित रहेर छलफल हुने अपेक्षा गरिएको छ । बजेट अधिवेशन चलिरहेकै बेला रास्वपाले देखाएको यो राजनीतिक अग्रसरतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस