काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव स्वीकृत भएसँगै बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनेछ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने संसद् सचिवालयले जनाएको छ ।
व्यवस्थापन कार्यअन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । उनले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा बैंकिङ क्षेत्रको नियामक निकायलाई सुदृढ बनाउने उद्देश्यसहित तयार पारिएको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र सोही बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र अन्तर्राष्ट्रिय महासन्धीसम्बन्धी प्रस्तावसमेत पेस हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ तथा ‘बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस