काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले सिन्धुलीस्थित राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको बाँकी निर्माण कार्यका लागि टेन्डर प्रकाशन भएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लामो प्रयास, सहजीकरण र समन्वयपछि आयोजनाको बाँकी काम अगाडि बढाउन टेन्डर आह्वान गरिएको उल्लेख गरेका छन्। समस्यामा परेको उक्त परियोजनालाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको भन्दै उनले सम्बन्धित सबै पक्षलाई धन्यवाद समेत दिएका छन्।
सांसद गजुरेलका अनुसार आयोजनाले तराई–मधेसका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी गरी पाँच जिल्लाका करिब १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षभरि भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
त्यसैगरी आयोजनाबाट ३१.०७ मेगावाट जलविद्युत उत्पादन हुने बताइएको छ। सुनकोशी नदीको पानी मरिण खोलामा खसाल्न निर्माण गरिएको १३.३ किलोमिटर लामो सुरुङको काम भने यसअघि नै सम्पन्न भइसकेको छ।
गजुरेलले उक्त आयोजना नेपालको कृषि उत्पादन, ऊर्जा विकास तथा समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले निर्माण व्यवसायी छनोटदेखि आयोजना सम्पन्न हुने सम्पूर्ण प्रक्रियालाई समयमै अघि बढाउन सम्बन्धित सबै सरोकारवालालाई आग्रह समेत गरेका छन्।
सुनकोशी–मरिण डाइभर्सन आयोजना नेपालका बहुउद्देश्यीय तथा राष्ट्रिय गौरवका महत्वपूर्ण परियोजनामध्ये एक मानिन्छ।
प्रतिक्रिया दिनुहोस