काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथि संसदीय छानबिन गर्न माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेट प्रस्तुतिपूर्व करका दरसम्बन्धी सूचना चुहावट भएको तथा बजेटमा छेडछाड भएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि छानबिन आवश्यक रहेको बताएका हुन् ।
शाहीले करका दर हेरफेरसम्बन्धी जानकारी सीमित व्यक्तिहरूसँग मात्र रहने उल्लेख गर्दै सूचना चुहावटका कारण केही व्यवसायी लाभान्वित भएको आशंका व्यक्त गरे । उनले बीवाइडी गाडी आयातसँग सम्बन्धित विषय उल्लेख गर्दै यसबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।
उनले करका दरसम्बन्धी गोप्य सूचना चुहावट गर्ने कार्य गम्भीर अपराध भएको दाबी गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने धारणा राखे। साथै, सरकारले बनाएको छानबिन समितिभन्दा संसदअन्तर्गतको स्वतन्त्र संसदीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने उनको माग थियो ।
शाहीले सुशासनको प्रतिबद्धतासहित बनेको सरकारले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने भन्दै कुनै पनि अनियमितता भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने–‘अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्छ ,यस विषयमा संसदले नै छानबिन समिति गठन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस