काठमाडौं । केही समयअघिसम्म सुकुम्बासीहरु को बसाइ बागमती किनारका टहरामा थियो। त्यो जीवन सहज थिएन, तर आफ्नै थियो । सरकारले नदी किनार अतिक्रमण हटाउने र बाढीको जोखिमबाट जोगाउने भन्दै उनीहरूलाई त्यहाँबाट हटायो । विरोध र असहमतिकै बीच उनीहरूलाई किर्तिपुरस्थित होल्डिङ सेन्टरमा सारियो। त्यतिबेला सरकारले त्यो ठाउँलाई सुरक्षित आश्रयका रूपमा प्रस्तुत गरेको थियो। तर समयले यस्तो विडम्बना देखायो कि, सुरक्षित भनिएको त्यही आश्रय पनि बाढीबाट जोगिन सकेन।
निरन्तर वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति किर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका सुकुम्बासी फेरि एकपटक विस्थापित भएका छन् । एउटा परिवारले छोटो अवधिमै दोस्रोपटक आफ्नो बसोबास छाड्नुपर्ने बाध्यता भोगेको छ । पहिलोपटक राज्यको निर्णयले उनीहरू आफ्नो थातथलोबाट उखेलिए भने दोस्रोपटक प्रकृतिको प्रकोपले उनीहरूले पाएको अस्थायी आश्रय पनि खोस्यो ।
नदी किनारका टहरा हटाइँदा धेरैले आफ्नो वर्षौंको बसोबास, छिमेक र दैनिक जीवन गुमाएका थिए। सरकारले उनीहरूलाई सुरक्षित स्थानमा राखिने आश्वासन दिएको थियो। त्यसपछि उनीहरू किर्तिपुरको होल्डिङ सेन्टरमा पुगे। उनीहरूको अपेक्षा थियो, अब कम्तीमा वर्षायाम सुरक्षित रूपमा बित्नेछ। तर शुक्रबार रातिको बाढीले त्यो विश्वास पनि बगाइदियो ।
बागमतीको पानी होल्डिङ सेन्टरभित्र पस्न थालेपछि त्यहाँ बसिरहेका परिवारहरू रातारात ज्यान जोगाउन बाहिर निस्कन बाध्य भए। कतिपयले हातमा बालबालिका बोके, कतिले लत्ताकपडा समेट्ने पनि समय पाएनन्। केही समयअघि मात्रै सारिएको अस्थायी बास फेरि खाली गर्नुपर्दा उनीहरूको पीडा झन् गहिरिएको छ।
होल्डिङ सेन्टर डुबानमा परेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। अन्य केही आफन्तको घरमा पुगेका छन् भने केही सेन्टर आसपासका सुरक्षित स्थानमा बसिरहेका छन्।
बाढीबाट जोगाउन भन्दै सारिएको ठाउँमै बाढी पस्यो। यसले होल्डिङ सेन्टर निर्माण गर्दा गरिएको जोखिम मूल्यांकन, स्थान छनोट र दीर्घकालीन व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। सुरक्षित भनिएको आश्रय नै असुरक्षित सावित भएपछि सुकुम्बासीहरूको भविष्य झन् अन्योलमा परेको छ।
दुईपटकको विस्थापनले उनीहरूका लागि केवल बस्ने ठाउँ मात्र खोसेको छैन, सुरक्षित भविष्यप्रतिको विश्वास पनि कमजोर बनाएको छ। उनीहरू अहिले फेरि अर्को अस्थायी आश्रयमा छन्। तर प्रश्न उही छ, उनीहरूको स्थायी घर कहिले बन्छ? बाढीबाट जोगाउन भन्दै सुरु गरिएको स्थानान्तरणले अन्ततः उनीहरूलाई अर्को विस्थापनको पीडा मात्र दिएको छ।
पहिला राज्यको निर्णयले उनीहरू आफ्नो थातथलोबाट विस्थापित भएका सुकुम्बासीहरु अहिले प्रकृतिको प्रहारले अस्थायी आश्रयबाट पनि विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस