काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आगामी एक वर्षसम्म पत्रकार तथा सामाजिक सञ्जालमार्फत कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पुनले अत्यन्तै महत्वपूर्ण सार्वजनिक सरोकारका विषयबाहेक एक वर्षसम्म कुनै पनि सञ्चारमाध्यम वा युट्युबरलाई अन्तर्वार्ता नदिने बताएका हुन्।
उनले केही दिनअघि ट्राफिक जरिवानासम्बन्धी विषयमा आफूलाई पर्याप्त जानकारी नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालले बारम्बार प्रतिक्रिया मागेको उल्लेख गरेका छन्। आफूले अटेरी गर्नेलाई जरिवाना तिर्नुपर्छ भन्ने सामान्य धारणा राखेको भए पनि ५० हजार रुपैयाँ जरिवानाको विषय आफूले नभई अरूले उठाएको दाबी गरेका छन्।
पुनले कानुन उल्लंघन गर्ने र अपराध गर्ने व्यक्तिलाई आवश्यक जरिवाना तथा कानुनी सजाय हुनुपर्ने आफ्नो मान्यता दोहोर्याउँदै त्यसबारे गलत व्याख्या गरिएको संकेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस