काठमाडौं / मुगुका गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा ज्यान गुमाएको दुई दिन नबित्दै देशका विभिन्न स्थानमा थप दुई जनाले आत्मदाहको प्रयास गरेका छन्। पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं र सर्लाहीमा भएका यी घटनाले गम्भीर चिन्ता थपेको छ।
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार बिहान करिब ६ः१५ बजे भएको घटनापछि प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पु¥याएको थियो।
चिकित्सकका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आत्मदाह प्रयासको कारण अझै खुल्न सकेको छैन। छिमेकीहरूका अनुसार घटनाअघि शुक्रबार राउतको आफ्नै छोरासँग केही विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। घरबाट करिब २०० मिटर टाढा पुगेपछि उनले आगो लगाएका हुन्।
गम्भीर घाइते भएका मण्डललाई हेलिकप्टरमार्फत शुक्रबार काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उनको शरीरको ८५ प्रतिशत भाग गहिरो रूपमा जलेको छ र अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।
यसअघि बिहीबार मुगुका गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका लागि काठमाडौं ल्याइएका उनको शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। प्रहरीले दुवै घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस